बैतडीः एकल पुरुषलाई दिँइदै आएको विदुर भत्ता बढेकाे छ। जिल्लाको मेलौली नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको हाे।
यसअघि प्रतिमहिना एकहजार पाँच सय रूपैयाँ रहेको भत्ता बढाएर दुई हजार पुर्याएकाे नगरपालिका उपप्रमुख राधा ओझाले बताइन्। नगरपालिकाले गएको तीन वर्षयता ५० भन्दा माथि र ६० वर्ष भन्दा मुनिका विदुरलाई सो भत्ता दिँदै आएको छ।
उनले भनिन्,“एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरुको जीवनयापन सहज होस भनेर भत्ता दिएका हौं।”
मेलौलीमा ८८ जनाले उक्त भत्ता लिएका छन्। यस्तै नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ। आमा बुवा दुवै गुमाएका बालबालिकाको सहयोगका लागि भन्दै गएको तीन वर्ष यता टुहुरा बालबालिकालाई पनि भत्ता प्रदान गरिँदै आएको नगरपालिकाले जनाएको छ।
नगरपालिकामा आमाबुवा दुवै गुमाएका अहिले १९ बालबालिका रहेका र उनीहरूलाई मासिक भत्ता दिँदै आएको उपप्रमुख ओझाको भनाइ छ। टुहुरा बालबालिकाको शिक्षादिक्षमा सहज होस भनेर भत्ता दिएको नगरप्रमुख कृष्णसिंह नायकले बताए।
भत्ता पाउँदा जीवनयापन सहज भएको वडा नं ९ का एकल पुरुष शङ्करदत्त भट्टले बताए। मेलौलीले २०७५ सालबाट सो भत्ता दिन थालेको हो।
प्रतिक्रिया