काठमाडौं : विवेकशील साझा पार्टीको एक प्रतिनिधि मण्डल बाढी पहिरोबाट क्षतिग्रस्त सिन्धुपाल्चोकमा पुगेको छ । पार्टी अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको प्रतिनिधि मण्डलले क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्दै राहतको लागि सरकारसँग समन्वय गर्ने र दिर्घकालीन समस्या समाधानका लागि आवश्यक कदम चाल्न समेत सरकारलाई सुझाएको छ ।
स्थलगत अवलोकनपछि सामाजिक सञ्जालमा पार्टी अध्यक्ष मिश्रले लेखेका छन्,
मेलम्ची पुग्दा
आज विवेकशीला साझाका दुईजना वागमती प्रदेश सभा सदस्य रमेश पौड्याल र शोभा शाक्य, संयोजक मिलन पाण्डे, केन्द्रीय सदस्य प्रदीप थापा र म मेलम्ची गयौँ। मेयर डम्बर अर्यालसँग भेट गर्यौँ। उहाँहरूले शुरु गर्नुभएको मेलम्ची बाढी पीडित कोषलाई पार्टीको तर्फबाट सानो सहयोग गर्यौँ। मेलम्चीको स्थिति नाजूक छ।
कयौँ एकतले घरहरू पुरै डुबेका छन्। दर्जनौँ घर बगेका छन्। स्थानीय निकाय र कयौँ नागरिक तथा संस्थाहरू सक्रिय रहे पनि सदा झैँ सरकारको पूर्व तयारी बिनाको फितलो विपद् व्यवस्थापन अभ्यासका कारण उद्धार गतिविधि नागरिक तहबाट हुने परोपकारी प्रयास झैँ देखिन्छ। हरेक वर्ष बाढीपहिरोका कारण आउने विपद् न्यूनिकरणको एउटा प्रमुख उपाय भनेको वैज्ञानिक भूउपयोग तथा वस्ती विकास योजना र कार्यानवयन हो। सरकारलाई त्यो चेतना कहिले आउने ?
यस्तै पार्टी संयोजक मिलन पाण्डेले लेखेका छन:
हामीले सिन्धुपाल्चोकको क्षतिग्रस्त क्षेत्र मेलम्ची बजारभन्दा अलि माथिबाट जे देख्यौँ
१ .बाढीले नसोचेको नोक्सान गरेको छ। मेलम्ची बजारमा मात्रै करिब ७० देखि १०० घर परिवार विस्थापित हुनुभएको छ।
२. अझै बढी क्षति हेलम्बु गाउँ पालिकामा र पाँचपोखरी गाउँ पालिकामा गरेको छ। बाटो र सञ्चार अवरुद्ध भएको हुँदा त्यहाँको पूर्ण विवरण आई नसकेको स्थानीय नेतृत्वहरूबाट जानकारी प्राप्त भयो। अझ बढी साहायता हेलम्बुमा आवश्यक रहेको पायौँ।
३. राहतका लागी धेरै मानिसहरूले सहयोग लिएर मेलम्ची बजार पुगेको देख्यौँ। तर त्यहाँ आफू खुसी वितरण गर्न रोक लगाइएको छ। नेपाली सेना मार्फत एकद्वार नीति अनुसार वितरण गर्ने प्रयास हुँदै छ।
४. स्थानीय सरकारको उपस्थिति राम्रो देखिएको छ। केन्द्र, प्रदेश र स्थानीय सरकार बिच समन्वयको भने ठुलो खाडल देखिएको छ।
५.स्थानीय युवाहरूको परिचालन र स्वयंसेवाले पीडितहरूको व्यवस्थापन सहज देखिएको छ। धन्यवाद युवा साथीहरू।
६. अहिले राहत र उद्धार लिएर जाने मानिसहरू धेरै भएको र कोभिडको नियम राम्रोसँग पालना नगरेको हुनाले कोरोनाको जोखिम भने झन् बढेको छ।
७. हामी आज त्यहाँ पुगेर बाढीपीडितहरूका दुःख र वेदना सुन्यौँ, स्थानीय जनप्रतिनिधि र युवा स्वयंसेवकहरूको हौसला बढायौँ र पार्टीको तर्फबाट सानो आर्थिक सहयोग गर्यौँ।
८ .पार्टीका स्थानीय नेतृत्व साथीहरुले राहत र उद्धारमा सकेको मद्दत गर्नुहुनेछ। पीडितहरूको पुनर्स्थापनामा पार्टीको तर्फबाट सहयोग र खबरदारी गर्छौँ।
९ .अनि, हरेक वर्ष जाने बाढी पहिरोको अब दीर्घकालीन समाधान खोज्न पार्टीको तर्फबाट लबिङ गर्छौँ। बागमती प्रदेश सभामा बोल्छौँ। नीति बनाउन र बनेका नीति कार्यान्वयन गर्न दबाब दिनेछौँ।
जोखिम मूल्याङ्कन, योजनाबद्ध र व्यवस्थित बस्ती निर्माण, भूक्षय बढाउने मानवीय क्रियाकलापमा कडा रोक लगायत नीतिको सधैँ वकालत गर्छौँ। भोलि सरकारमा पुगेपछि कार्यान्वयन गर्छौँ।
प्रतिक्रिया