काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर भारत पुगेको टोलीले तुइन काटिएको विषय उठाएको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोलीले भारतसँग तुइन काटिएको विषयसँगै सीमा विवादकाे विषयसमेत उठाएको छ ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा बिहीबार नयाँदिल्ली गएको महत नेतृत्वको टोलीले शुक्रबार (हिजो) भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको थियो । उक्त भेटका क्रममा टोलीले तुइन काटिएको विषय र सीमा विवादकाे विषय उठाएको हो ।
भारतीय सञ्चारमाध्यम आयोन न्यूजका लागि सिद्धान्त सिवालसँग कुराकानी गर्दै डा. महतले सीमा मुद्दा र तुइनको विषयमा छलफल भएको बताएका छन् । महतले भनेका छन्, ‘हामीले भारत सरकारको तर्फबाट विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छौँ । हामीबीच निकै राम्रो छलफल भएको छ । मैले नेपालका लागि निकै महत्त्वपूर्ण मुद्दा सीमाको विषय, कोभिशिल्ड खोपको विषय, मल ढुवानीको विषय र महाकालीमा तुइन तरिरहेको एक नेपाली महाकाली नदीमा खसेको विषयलाई उठाएको छु ।’
महतले भारत सरकारलाई यस विषयलाई महत्वका साथ लिन पनि भारतीय पक्षलाई सुझाएको बताइएको छ । महतले थपे, ‘भारतका लागि यी साना मुद्दा हुनसक्ने भए पनि नेपालका लागि यी निकै ठूला विषयहरू हुन् । यसले नेपालीको भावनामा निकै ठूलो असर गर्छ । यदि भारत सकारात्मक तवरबाट आयो भने यसले नेपालमा पनि सकारात्मक सन्देश प्रवाह गर्छ ।’
भारतीय विदेशमन्त्री जयशंकरले पनि यस विषयलाई सकारात्मक रुपमा लिएको र नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएको महतले बताएका छन् ।
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेट्दै बनाएको राजनीतिक तथा प्रशासनिक नक्साको विषयलाई पनि संवादको माध्यमबाट समाधान गरिनुपर्ने स्पष्ट पारेको छ ।
प्रतिक्रिया