काठमाडाैंः सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री एवं कोभिड–१९ निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त बैठकले उपयुक्त मुलुकमा सातामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त निर्णय मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले बैठकमार्फत् वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत भएकाे बताए।
कूल १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने पनि निर्णय भएको छ।
प्रतिक्रिया