पाँचथरः जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या गरिएकाे छ। स्थानीय ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो।
इङ्वाको शरीर र टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ। घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिकरूपमा अशक्त छिन्।
मृतककी बुहारी आज बिहान सासूससुरा भेट्न भन्दै त्यहाँ आएपछि घटना सार्वजनिक भएको हो। हाल प्रहरीले हत्या भएको घरलाई सिल गरी अनुसन्धान गरिरहेको छ।
मृतक वृद्ध सेवा निवृत्त भारतीय सैनिक हुन्। गत बिहीबारमात्रै उनले निवृत्तिभरणको रकम बैंकबाट बुझेको हुनाले लुटपाटका लागि उनकाे हत्या भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले थप विवरण सार्वजनिक भएको छैन।
प्रतिक्रिया