काठमाडाैंः नेकपा एमाले बागमती प्रदेशले कांग्रेसका प्रदेश सांसद नराेत्तम वैद्यलाई कारवाही गर्न माग गरेकाे छ। शुक्रबार प्रदेश सभा बैठकमा प्रधानमन्त्रीकाे हत्या गर्ने अभिव्यक्ति दिएका वैद्यलाई कारवाही गर्न एक विज्ञप्ति जारी गर्दै एमाले बागमती प्रदेशले माग गरेकाे हाे।
एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले बैद्यलाई तत्काल प्रदेश सभाबाट निलम्बन गरी कारबाही गर्न माग गरेका हुन्। वैद्यले यस्ताे गम्भीर अभिव्यक्ति दिनुमा षड्यत्र लुकेका भन्दै उनले आयोग बनाइ दोषीहरू पत्ता लगाउनसमेत आग्रह गरेका छन्।
’एक शक्तिशाली आयोग बनाई तथ्य सत्या पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु। हत्या जस्तो गम्भीर अपराधको वकालत गर्ने सबैलाई कानुनको दायरामा ल्याउन अनुरोध पनि गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
शुक्रबार बागमती प्रदेश सभाकाे बैठकमा वैद्यले माहात्मा गान्धीलाई नाथुराम गोड्सेले मारेझैं केपी शर्मा ओलीलाई मार्न आफू गाेड्से बन्न तयार भएकाे अभिव्यक्ति दिएका थिए।
यता नेपाली कांग्रेस बागमती प्रदेशले पनि वैद्यलाई आफ्नाे साे अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएकाे छ। कांग्रेस बागमती प्रदेशकाे संसदीय दलका नेता ईन्द्र बाँनियाले विज्ञप्ति निकालेरै वैद्यलाई आफ्ना अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएका हुन्।
प्रतिक्रिया