सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १४० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत निवासी ३०÷३० वर्षीय भरत थापा र मनोज विक, १८ वर्षीय एनआर राना र सिम्ता गाउँपालिका–१ सुर्खेत निवासी कोमल राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए।
नेपालगञ्जबाट सुर्खेततर्फ लागुऔषध ब्राउन सुगर ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिप्रका सुर्खेत र इप्रका छिन्चुबाट गएको प्रहरीको संयुक्त टोली बबई पुगेको र उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी शरीर र झोलामा खानतलासी गर्दा ब्राउन सुगर भेटिएकाे घर्तीले बताए।
भरत विकले लगाएको रेनकोटको बायाँ गोजीमा दुई पोका र एनआर रानाले लगाएको कालो मास्क र पहेलो रङको झोलाभित्र लुकाइछिपाइ राखेको एक पोका र एक पुरीया गरी जम्मा तीन पोका एक पुरीया ब्राउन सुगर नापतौल गर्दा दुई ग्राम १४० मिलीग्राम परिमाण भेटिएको हाे।
पक्राउ परेका चार जनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया