झापा- नेपालमा धार्मिक सहिष्णुता गतिलो रहेको उदाहरण झापाको विर्तामोडमा देखिएको छ। विर्तामोडको वडा नं ३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेकी छन्।
मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले रू १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिएकी हुन्।
हाल स्थानीय मस्जिदमा कक्षा ४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ। जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा १२ सम्म पठनपाठन हुनेगरी मदरसाको भवन निर्माण गर्न लागिएको थियो। मदरसाका प्रमुख अफरोज खानले सबै धार्मिक समुदायका दाताहरुलाई आह्वान गरेपछि मदरसा निर्माणमा सहयोग जुटेको हो।
अपुग जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्याइने र मदरसा भवन निर्माण गरिनेसमेत खानले बताए।
सो क्षेत्रमा मुस्लिम समुदायका एक सय ५० परिवार बसोबास गर्दै आएको छ। नजिक कुनै विद्यालय नभएको हुँदा मुस्लिम समुदायका सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन मदरसा स्थापना गरिएको वडाध्यक्ष भोजराज सिटौलाले बताए।
जग्गादाता प्रसाईँलाई आइतबार एक समारोहबीच मदरसाले सम्मानसमेत गरेको छ। मुस्लिम समुदायका बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर मदरसा सञ्चालनका लागि आफूले जग्गा दान गरेको दाता प्रसाईँले बताइन्।
प्रतिक्रिया