लेटेस्ट न्युज
advertisement1

लुटतन्त्रविरुद्ध उज्वल थापाको 'पागलपन'

लुटतन्त्रविरुद्ध उज्वल थापाको 'पागलपन'

राजनीतिक आन्दोलनको नाममा दिनहुँजसो नेपाल बन्द, चक्काजाम र आगजनी भैरहेको बेला 'नेपाल खुल्ला छ' लेखेको प्लेकार्ड बोकेर हिँड्ने तात्कालीन समयको एउटा पागल पात्र हुन् उज्ज्वल थापा । जसको पागलपनले हाल नेपालमा रेलिङ भाँच्ने, टायर बाल्ने र ढुङ्गा हान्ने राजनीतिको युग बदलिन थाल्यो ।  आजभन्दा करिब २५ बर्ष पहिले छात्रवृत्तिमा 'खगोल तथा भौतिक विज्ञान' पढ्न अमेरिका पुगेका थापा ५ वर्षपछि 'वेबसाईट डिजाइनर' बनेर नेपाल फर्किए ।

नेपाल फर्केर समाजसेवामा केन्द्रित भएका उनी माओवादी द्वन्द उत्कर्षमा पुगेको बेला द्वन्द व्यवस्थापनको तालीमसहित सरकार र द्वन्द्वरत पक्षबीच कसरी संवाद गर्न सकिन्छ भन्दै  जनतालाई सचेत बनाउन विभिन्न गाउँहरु पुगे । उद्यमशील नेपालीहरुले मात्रै नेपालको परिवर्तन गर्न सक्छन् भन्दै उद्योगीहरुको सञ्जाल 'आनट्रोप्रनियोरस् फर नेपाल' सिर्जना गरे । हाल उक्त सञ्जालमा करिब दश हजार युवा उद्यमीहरु सामेल रहेका छन् । 

'अहिले नगरे कहिले ? हामीले नगरे कस्ले गर्ने ?' भन्ने हुटहुटीले दौडिएका उज्वल थापाले परम्परागत राजनीतिलाई सम्पूर्ण समस्याहरुको कारण मात्रै ठानेनन् उक्त फोहोर राजनीति सफा गर्न कम्मर कसेर लाग्ने निधो समेत गरे । 'यो देश बनाउन कुनै बुद्ध वा पशुपतिनाथ आउनेवाला छैनन्, यो देश बनाउने भनेको तपाईं हामीले नै हो' भन्दै सम्पूर्ण युवाहरूलाई संस्कारयुक्त वैकल्पिक राजनीति स्थापनाको लागी आह्वान गर्न थाले। तलब पूरा लियौ, अब जनतालाई संविधान देउ' अभियानबाट बिस्तारै युवाहरु एकीकृत हुँदै गएपश्चात् 'विवेकशील नेपाली' नामक एउटा सानो समूह बन्यो ।

दोस्रो  संविधानसभाको निर्वाचनमा सोही समूहबाट ४ जनाले स्वतन्त्ररुपमा उम्मेद्बारी दिए । उक्त मतपरिणाम बाट नजानिँदो हिसाबले जनताले परिवर्तनको आशा पालेर राखेको ठहर गरेका थापाले 'विवेकशील नेपाली' नामको दल दर्ता गरे । पब्जी र फ्रीफायरमा अभ्यस्त हुँदै गरेको, राजनीतिप्रति गहिरो वितृष्णा राख्ने, अङ्ग्रेजी शब्द नराखी एउटा नेपाली वाक्य पूरा गर्न नसक्ने २१ शताब्दीको नेपाली युवा पुस्तालाई प्लेकार्ड बोकेर माइतीघरमा उभ्याउने थापाको नेतृत्व नेपाली राजनीतिको इतिहासमा लेखिएको छ ।

सुरुसुरुमा काठमाडौं, बुटवल, पोखरा लगायतका मुख्य सहरहरुलाई केन्द्रित गरेर विभिन्न अभियानहरु सञ्चालित भए। अधिकांशले विवेकशील नेपाली पार्टी नभएको र समाजसेवाको एउटा क्लब मात्रै भएको भन्दै व्यङ्ग्य गर्न थाले । 'डलरे' 'फेसबुके' इत्यादी नामले समेत फलाक्न थाले । स्थानीय निर्वाचनमा भाग लिईरहँदा नेपालको संवृद्धि अभियानलाई एकै पुस्तामा रुपान्तरण गर्ने लक्षका साथ युवा, दक्षता र क्षमता र मुलुक बनाउने हुटहुटी भएकाहरुले शुरु गरेको वैकल्पिक राजनीतिक दल साझा पार्टीसँग साझा पार्टी सँग मिलेर जानुपर्ने खालको जनादेश प्राप्त भएपछि पार्टी एकता भयो यससँगै एकीकृत पार्टीले प्रतिनिधि सभाको चुनावमा देशका धेरै ठाउँबाट उम्मेदवारी दियो ।

राष्ट्रिय राजनीतिमा संस्कार सहितको वैकल्पिक दलको रुपमा चिनिन थाल्यो । जुटेलगत्तै फुटेको विवेकशील नेपाली दलको आगामी महाधिवेशनमा तात्कालीन अध्यक्ष उज्ज्वल थापाले पुनः अध्यक्षको लागि उम्मेदवारी नदिने बरु पछिल्लो पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने भन्ने निर्णयलाई सबैले स्वागत गरे । महाधिवेशनबाट अध्यक्षको रुपमा मिलन पाण्डे अगाडि आएपश्चात् पुनः साझासँग एकता भएर हाल विवेकशील साझा पार्टी वैकल्पिक राजनीितकाे मूलधारकाे रुपमा सञ्चालनमा रहेको छ ।

जेल बस्नु, हतियार बोक्नु, युद्ध गर्नु, जनता मार्नु, चुनाव जित्नु इत्यादि नेता बन्नको लागि स्थापित परम्परागत मान्यतालाई पन्छाउँदै हतियार बिना क्रान्ति सम्भव छैन भन्नेहरुलाई समेत ूहामी यहाँ छौूँ भन्ने प्लेकार्ड बोकाएर माइतीघरमा उभ्याउन सक्नु तपाईको अर्को सफलता हो ।

नेपालको इतिहासमा पहिलो पटक यति सानो दलको नेता बिरामी हुँदा यतिधेरै सद्भाव ? के यो सद्भावभित्र संस्कार सहितको वैकल्पिक राजनीतिक प्यास छैन रुरु जनतालाई सचेत बनाउँदै वैकल्पिक सुसंस्कृत राजनीति मार्फत देश परिवर्तनको सपना देख्ने उज्वल थापा कोरोना सङ्क्रमणका कारणले हिजो संसारबाट बिदा लिए । नेपाल आमाले हजारौँ पागल उज्वलहरुलाई जन्म दिउन् ताकी उनीहरुको पागलपनले लुटतन्त्रविरुद्ध धावा बोल्ने सामर्थ्य राखोस् !

हार्दिक श्रद्धाञ्जली प्रिय नेता 
तपाईंको आत्माले शान्ति पाओस् !

- मनिष प्रयास 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

36.36%

खुसी

27.27%

दुःखी

0%

अचम्मित

36.36%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्