काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थलबारे रहेकाे भ्रम तत्काल सच्चाउन विश्व समुदायलाई आग्रह गरेका छन्। २५६५ औंं बुद्धजयन्तीका अवसरमा एक भिडियाे सन्देशमार्फत प्रधानमन्त्री ओलीले बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको तथ्य भएकाले भ्रममा नपर्न विश्व समुदायलाई सचेत गराएका हुन्।
उनले अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराउँदै भने- 'यस्ता कुराहरु नसच्चिएको भन्ने पनि सुनिन आएको छ, म सबैमा यस्ता त्रुटिहरु आजको वैज्ञानिक युगमा, सूचनाको युगमा त्रुटिहरु नै निरन्तर कायम राखेर बालबालिका वा नयाँ पुस्तालाई तिनै त्रुटिहरु पढाउनु वाञ्छनीय हुँदैन, त्यसैले सत्य पढाउनेतर्फ, सत्य सिकाउनेतर्फ र बालबालिकालाई सत्य कुरा अवगत गराउने दिशातर्फ सबैको ध्यानाकर्षण पनि गराउन चाहन्छु।'
उनले थप भने- 'जहाँबाट बुद्ध मानव जातिको जन्ममरण जस्ता कुराबाट मुक्ति कसरी हुन्छ भन्ने खोजीमा दरबार त्यागेर, सुखसयल त्यागेर बाहिर निस्कनुभएको थियो, त्यहीँबाट बुद्धका चिन्तनको मुहान सुरु हुन्छ।'
उनले नेपाल बुद्धकाे भूमी भएकाे पनि बताए। उनले नेपाल शान्तिकाे सन्देश छर्ने थलाे रहेकाे पनि बताए। उनले भने- 'नेपाल बुद्धकै जन्मभूमि हो र बुद्धिज्मको, बुद्धवादको, बुद्ध दर्शनको उद्गमस्थल पनि हो र शान्तिको सन्देश छर्ने थलो पनि हो।'
यस्तै प्रधानमन्त्री ओलीले गाैतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलकाे पनि चर्चा गरेका छन्। उनले विमानस्थल अन्तिम चरणमा पुगिसकेकाे बताउँदै बुद्धकाे पिताकाे दरबार, रामग्राम लगायत क्षेत्रकाे जमिनकाे एक्सरे गर्ने काम अगाडि बढेकाे, लुम्बिनी सर्किट र ५ हजार क्षमताकाे ध्यान केन्द्र बनाइरहेकाे पनि बताएका छन्।
प्रतिक्रिया