गोरखाः जिल्लाको आरुघाट क्षेत्रबाट सोमबार संरक्षित वन्यजन्तु सालकको उद्धार गरिएको छ। आरुघाट पुल नजिकैबाट सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेललले जानकारी दिए।
स्थानीयवासीले सालक भेटिएको जानकारी दिएपछि वन कार्यालय र इलाका प्रहरी कार्यालय आरुघाटबाट गएको प्रहरीको संयुक्त टोलीले सालकको उद्धार गरेको उनले बताए। उद्धार गरिएको सालकलाई गोरखा नगरपालिका–८ स्थित लुदी दामगाढे सामुदायिक वन क्षेत्रमा छाडिएको सूचना अधिकारी पौडेलले जानकारी दिए।
उक्त सामुदायिक वन क्षेत्र सालकको राम्रो बासस्थान क्षेत्र भएकाले सो क्षेत्रमा लगेर छोडिएको उनकाे भनाइँ छ। गोरखा नगरपालिका क्षेत्रमा यसअघि पनि पटकपटक सालक भेटिएको भए पनि आरुघाट क्षेत्रमा पहिलोपटक फेला परेको वन कार्यालयले जनाएको छ।
सालक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा संरक्षित वन्यजन्तुको सूचीमा पर्ने उनले बताए।
प्रतिक्रिया