बाँकेः जिल्लामा उपचाररत थप पाँच काेराेना सङ्क्रमितको निधन भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको निधन भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण पाँच महिने गर्भवतीको निधन भएको छ। ठाकुरबाबा नगरपालिका वडा नंं १ बर्दिया निवासी ३४ वर्षीया गर्भवतीको आज बिहान निधन भएको हो।
यसैगरी भेरी अस्पतालमै उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ निवासी ३९ वर्षीय पुरुष र बनागाड कुपिन्डे नगरपालिका ४ सल्यान निवासी ६० वर्षीया महिलाको निधन भएको छ।
बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोहलपुर नगरपालिका वडा नं. ९ निवासी ६१ वर्षीय पुरुष र गुलरिया नगरपालिका वडा नं.१० बर्दिया निवासी ६० वर्षीय पुरुषको निधन भएको स्रोत व्यक्ति वलीले जानकारी दिए।
योसँगै बाँकेमा कोभिड सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका एक सय ७५ र जिल्लाकै दुई सय २९ जनाले हालसम्म ज्यान गुमाइसकेका छन्।
प्रतिक्रिया