काठमाडाैंः संसदमा विश्वासकाे मत लिन नसकेर स्वतः पदमुक्त भएका केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन्। विपक्षी गठबन्धनले नयाँ सरकार गठन गर्न दिइएकाे तीन दिनकाे समयसीमाभित्र बहुमत जुटाउन नसक्दा संसदकाे ठूलाे दलकाे संसदीय दलकाे नेताकाे हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः केपी शर्मा ओलीलाई नै देशकाे प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
यसअघि एमालेका झलनाथ-माधव समूहले राजीनामा दिने र जसपा एक ढिक्का भइ विपक्षी गठबन्धनलाई बहुमत पुर्याउन सघाउने आँकलन गरिए पनि दुवै हुन नसक्दा विपक्षी गठबन्धन सरकार गठन गर्न चुकेकाे हाे। नयाँ सरकार गठन गर्ने अन्तिम दिन एमालेकाे स्थायी समिति बैठकले एमालेका चार नेतामाथिकाे कारवाही फुकुवा गरेकाे र साँझ नेपाल र ओलीबीच लामाे वार्ता भएसँगै एमाले विभाजनकाे खतरा टरेकाे थियाे।
त्यस्तै जसपाका महन्थ-राजेन्द्र समूहका सांसदलाई भक्तपुरकाे रिसाेर्टमा लगेर राखिएपछि विपक्षी गठबन्धनलाई धक्का लागेकाे हाे।
याेसँगै केपी शर्मा ओली नेपालकाे संविधानकाे धारा ७६ काे उपधारा ३ अनुसार देशकाे प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनले आजै पद तथा गाेपनियताकाे शपथ ग्रहण गर्नेछन्। शपथ ग्रहण दिउँसाे २ बजे राष्ट्रपति भवन शितलनिवासमा हुनेछ। याेसहित केपी शर्मा ओली तेस्राे पटक देशकाे प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
प्रतिक्रिया