महाेत्तरीः जिल्लाको बर्दिबास नगरपालिका–५ को ग्रामीण बस्ती चेरुमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि स्थानीयमाझ त्रास बढेको छ। सानाे बस्तीमा हाल ४० जना भन्दा बढी सङ्क्रमित भइसकेका छन्।
विवाह समारोहमा भएको जमघट र बाहिरी पाहुनाको सघन आवतजावतबीच स्वास्थ्य सचेतना नअपनाइँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन्। पूर्वपश्चिम राजमार्गबाट करिब सात किलोमिटर उत्तर चुरे पहाडी शृङ्खलामा पर्ने यो बस्तीमा वैशाख १७ गते भएको वैवाहिक समारोहको जमघटयता सङ्क्रमण ह्वात्तै बढेको हो।
बस्तीका ४० जनामा पिसिआर परीक्षणबाट सङ्क्रमण पुष्टि भइसकेको बर्दिबास नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सहसंयोजक वरिष्ठ स्वास्थ्यकर्मी रामबाबु यादवले जानकारी दिए। साे बस्तीका स्थानीयमा वैशाख २० गतेदेखि रुघाखोकी लाग्ने, ज्वरो आउने र सास फेर्न अप्ठ्यारो हुने समस्या देखिन थालेपछि बस्ती केन्द्रित स्वाव सङ्कलन र परीक्षण थालिएको थियो।
बर्दिबास नगरक्षेत्रमा वैशाख महिनाभित्र एक सयको हाराहारीमा सङ्क्रमण पुष्टि भएमध्ये अन्य वडा बस्तीमा छिटफुट पाइए पनि चेरुमा भने डरमर्दो स्थिति बनेको छ।
प्रतिक्रिया