हुम्लाः जिल्लामा खाद्यान्नकाे संकट पर्न सक्ने जनाउँदै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले बुधबारदेखि खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न हवाई उडान सूचारू गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यकाे अध्यक्षतामा बुधबार बसेको बैठकले हरेक दिन संक्रमण बढेकाे र पछि झनै भयावह हुन सक्ने भन्दै जिल्लामा खाद्यान्न संकट हुन नदिन हवाई उडान जारी राख्ने निर्णय गरेको हो।
जिल्लामा उडान भर्दै आएका निजी विमान कम्पनी सीता एयर, तारा एयर र समिट एयरका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो। गत सोमबार नेपालगञ्ज र सुर्खेत हुँदै जिल्ला आएका यात्रुमध्ये एन्टिजेन परीक्षण गरिएका आठ जनामा कोरोना संक्रमण देखिएपछि वैशाख २२ गते राति १२ बजेदेखि जिल्लाभर निषेधाज्ञा गरिएको थियो भने सुर्खेत र नेपालगञ्जबाट हुने सबै उडान बन्द गरिएको थियो।
एयरलाइन्सद्वारा ढुवानी गरेर ल्याइएका सामग्री यही वैशाख २८ गतेपछि मात्रै सम्बन्धित व्यक्ति र निकायमा दिइने निर्णय बैठकले गरेको छ। निजी विमान कम्पनीले ढुवानी गरेर ल्याएका खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री झार्न लोडरले अनिवार्य पिपिसेट लगाउनुपर्ने बताइएको छ।
प्रतिक्रिया