रुपन्देहीः जिल्लामा काेराेना संक्रमितकाे संख्या बढ्दै गएपछि तिलाेत्तमा नगरपालिकाका मेयर र उपमेयर चढ्दै आएकाे गाडीलाई बिरामी बाेक्ने एम्बुलेन्सकाे रुपमा प्रयाेग गरिने भएकाे छ। लु१झ ३६० नम्बरको मेयर बासुदेव घिमिरेले प्रयाेग गर्दै आएकाे र लु१झ ३२६ नम्बरकाे उपमेयर जगेश्वरीदेवी चौधरीले प्रयाेग गर्दै आएकाे स्कर्पियाे गाडीलाई संक्रमित बाेक्ने एम्बुलेन्स बनाइएकाे हाे।
जिल्लामा हाल संक्रमितलाई अस्पतालसम्म पुर्याउनसमेत एम्बुलेन्स अभाव हुन थालेपछि नगरपालिकाले यस्ताे निर्णय लिएकाे हाे। यसअघि नगरपालिकामा रहेका दुईवटा एम्बुलेन्सले धान्न मुस्किल भएपछि यस्ताे निर्णय गरिएकाे नगरपालिकाका सूचना अधिकारी सुरेन्द्र श्रीले मर्यादा न्यूजलाई जानकारी दिए।
'बिरामी घरमा छट्पटाई रहने अनि यता सवारी साधनकाे अभाव हुने कुरालाई सहजीकरण गर्छ भन्ने साेचले मेयर र उपमेयरकाे पहलमा नगरपालिकाले यस्ताे निर्णय गरेकाे हाे', उनले भने 'उहाँहरूले वैकल्पिक व्यवस्था गर्छु भनेपछि उहाँहरू चढ्ने गाडीलाई एम्बुलेन्स बनाइएकाे हाे।'
एम्बुलेन्समा रुपान्तरण गरिएकाे गाडीमा अक्सिजन राख्ने काम भइरहेकाे र आजैबाट प्रयाेगमा ल्याइने बताइएकाे छ। तिलाेत्तमामा हालसम्म कूल तीन हजार एक सय ४७ जनामा सङ्क्रमण पुष्टि भइसकेकाे छ। यसमध्ये एक हजार दुई सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन्।
प्रतिक्रिया