सर्लाहीः जिल्लाका चुरे क्षेत्रका बासिन्दाले वर्षेनी सुक्खा मौसममा खानेपानीको सङ्कट झेल्दै आएका छन्। सुक्खा याममा चुरे क्षेत्रका धारा, इनार, कुवालगायत खानेपानीका स्रोत सुक्ने गरेकाले स्थानीयलाई वर्षेनी खानेपानीकाे अभाव हुने गरेकाे हाे।
चुरे डाँडा छेउछाउका बस्तीमा फागुनदेखि नै खानेपानीको समस्या सिर्जना हुने गर्दछ। फागुन-चैतमा चुरे क्षेत्रमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालीञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्ग्रेखोलालगायत क्षेत्रमा खानेपानीको सङ्कट हुने गरेको हो।
बढ्दो वन विनाश र अवैध उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका मुहान चाँडो सुक्न थालेका छन्। यस क्षेत्रका बासिन्दा एक गाग्री खानेपानी जोहो गर्न पनि घण्टौं धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य भएका छन्। गाउँका ४०/४५ घरधुरीका लागि एउटा मात्रै कुवा रहेको र त्यसमा रातभरि जम्मा भएको पानीले दुई/चार घरलाई मात्र पुग्ने गरेको ईश्वरपुर नगरपालिका–१२, कालीञ्जोरका कान्छा लामाले बताए।“अहिले गाउँका अधिकांशले नजिकैको खोला, कुवा र छिमेकी गाउँबाट पानी ल्याएर खाइरहेका छौँ, उनले भने।
चुरेका बासिन्दा र वस्तुभाउले एउटै खोला/खोल्साको पानी खान्छन्। दूषित पानी पिउँदा स्थानीय बासिन्दा पखालालगायत अन्य पानीबाट सर्ने रोगको शिकार बन्दै आएका छन्।
खानेपानीको अभाव टार्न गत वर्ष लालबन्दी, बागमती र हरिवन नगरपालिकाले लिफ्ट प्रविधिबाट चुरेका केही बस्तीमा खानेपानी पुर्याए पनि केही स्थानबाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभावकारी नभएको स्थानीयवासीले बताएका छन्। नगरको उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको अभाव हुन नदिन पुराना इनार मर्मत एवम् नयाँ निर्माण गर्ने र ठाउँठाउँमा डिप बोरिङ गाड्ने काम भइरहेको जनप्रतिनिधिले बताएका छन्।
हरिवन–१ चुरेपाखोस्थित धिमिलेमा आधा दर्जन गाउँलाई पानी खुवाउन ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ। चालु आव २०७७÷७८ सम्म सम्पन्न गर्ने गरी दुई हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण गर्न शुरु गरिएको नगरप्रमुख गणेश प्रसाईंले जानकारी दिए।
सो आयोजनाअन्तर्गत वडा वडा नं १ का सात स्थानमा त्यति नै क्षमताको ट्याङ्की निर्माण हुने नगरपालिकाले जनाएको छ। रू एक करोड ५० लाख लागतमा निर्माण हुन लागेको ट्याङ्कीमा दुई मुहानबाट पानी लिफ्टिङ गरेर लैजाने योजना रहेको नगर उपप्रमुख रेणुका पौडेलले बताइन्। यसरी लिफ्टिङ गरिएको पानी चुरेडाँडामा रहेका वनमारा, केराबारी, थामीटोल, विलन्दी र बेलडाँडामा पाइपलाईनमार्फत वितरण गरिनेछ।
पानीको उपयुक्त स्रोत नहुँदा स्थानीयवासीले मूलको जरुवा पानीलाई कुवा बनाएर सङ्कलन गरेर पिउँदै आएका छन्। त्यहाँ रहेको कुवा पनि हिउँदको केही महिना सुक्ने गर्दा काकाकुलको अवस्था बेहोर्नु परेको स्थानीयवासी सोमबहादुर वाइवाले गुनासो गरे। नगरको अति विकट मानिने वडा नं १ र आसपासका क्षेत्रमा कसरी पानी पुर्याउन सकिन्छ भनेर थप अध्ययन गरिसकिएको र नजिकैको खोलाबाट लिफ्ट प्रविधिमार्फत खानेपानी पुर्याउने थप प्रयास भइरहेको नगरप्रमुख प्रसाईंले बताए।
प्रतिक्रिया