आयौ घुम्दै कति सहजले एक वर्षै बिताइ।
नेपालीको सब घर पुगी छेऊ शिक्षा रमाइ।।
बिर्सी सारालाई विगतहरूको सोच जे छन् अँधेरा।
ल्याऊ राम्रा प्रगती पथका योजना झन् उज्याला।।
ऐले धर्ती कहर कति हो, कोरोनाको रजाइँ।
सारा मान्छे विचलित भई बस्दछन् दुःख पाई।।
हेर्छौ संख्या मरण कति भो मान्छेको जिन्दगानी।
ढोका खोल्दै अमृत जलले ल्याऊ नौलो बिहानी।।
वासना छर्दै अबुझहरूमा देशभक्ति जगाइ।
भ्रष्टाचारी मनुजहरूमा सत्य सन्देश छाइ।।
हत्या हिंसा अब मुलुकमा अन्त्यको मार्ग खोजी।
ऐले आऊ–यस धर्तीमा कर्मलाई उचाली।।
दोषी आफैं बुझ मनुजले देश यो उठ्न सक्छ।
मैले गर्छु भनिकन उठे दोषी काेनै ठहर्छ।।
अर्कालाई किन मनजु हो, हेर्दछौ प्वालबाट।
राम्रो सोची अब तिमी उठ ऐलेको वर्षबाट।।
सारा मान्छे सु:खसँग बसुन् सोच राम्रो जगाइ।
हाम्रो झण्डा फरफर गरोस् मेची, काली रमाइ।।
मेची दुख्दा अब मन दुखोस् पश्चिमी दाजु भाइ।
बस्ने हामी हिम शिखरझैं छैन कोही पराई।।
सम्झी हाम्ले शहीदहरूको रक्तको मर्मलाई।
बस्ने हामी किन सकसमा देशलाई दुखाइ।।
बाँचुन हाम्रा विगतहरूका देशभक्ति लडाइँ।
रक्षा गर्ने भनी सब उठौं ऐलेको बर्षलाई।
–युबराज घिमिरे
करापुटार लमजुङ
प्रतिक्रिया
युबराज घिमिरे
2021-04-16 21:16:36कबिता प्रकाशन गरिदिएकोमा धन्यबाद।