लेटेस्ट न्युज
advertisement1

२० खर्ब डलरकाे भयाे क्रिप्टोकरेन्सीकाे बजार

Maryada News 2021-04-13 15:45:17
२० खर्ब डलरकाे भयाे क्रिप्टोकरेन्सीकाे बजार

एजेन्सीः सन् २०२१ मा क्रिप्टोकरेन्सीकाे बजार मूल्य झण्डै २० खर्ब डलर पुगेकाे छ। वालस्ट्रिट समेतका ठूला नामहरूलाई यसले आफूतिर आकर्षित गरिरहेको छ। डिजिटल मुद्रा 'क्वाइनबेस' न्यूयोर्कमा मङ्गलबार सूचीकृत हुँदैछ। क्वाइनबेस १२ वर्षअघि स्थापित भएकाे थियाे।

क्वाइन मार्केट एपकाअनुसार क्रिप्टोकरेन्सीको बजार समग्रमा २० खर्ब डलरभन्दा माथि पुगिसकेको छ। क्वाइन मार्केट एपले ९ हजार भन्दा बढी क्रिप्टोकरेन्सी सूचीकृत गरेको छ।

कसरी शुरु भएकाे थियाे क्रिप्टाेकरेन्सी?

क्रिप्टाेकरेन्सीलाई धेरैले बिटक्वाइन भनेर चिन्दछन्। विश्वव्यापी वित्तीय सङ्कटको उभार चलिरहेको अवस्थामा सन् २००८ अक्टोबर ३१ मा केही अज्ञात व्यक्तिहरूले यसकाे शुरुवात गरेका थिए। सातोशी नाकामोतोको काल्पनिक नामबाट चिनिने व्यक्तिले बिटक्वाइनका बारेमा श्वेतपत्र प्रकाशन गरेका थिए। श्वेतपत्रमा यसको मुख्य लक्ष्य नै भुक्तानीको एउटा चलायमान र अवरोध विनाको विद्युतीय साधन निर्माण गर्नु थियो।

यस्तो भुक्तानीलाई देशका केन्द्रीय बैंक वा वित्तीय संस्थाको निगरानीबाट सुरक्षित राख्ने यसकाे अर्को लक्ष्य थियो। यस्तो कारोबारलाई सफ्टवेयरबाट नियमन गर्ने बनाइयो जहाँ यसका नियमलाई परिवर्तन गर्न लगभग असम्भव हुन्थ्यो। कुनै पनि व्यक्तिले नयाँ बिटक्वाइन आफ्नो बनाउन सक्थ्यो, र यसका लागि विशाल तथ्याँक केन्द्रको जरुरी रहन्थ्यो।

शुरुवाती समयमा क्वाइनबेस जस्ता प्लेटफर्मले क्रिप्टोकरेन्सीको व्यापारलाई सहजीकृत गरेको थियो। बैंक र पे पल बाट उपलब्ध निश्चित डिजिटल मुद्राहरुले पनि भुक्तानी र कारोबारलाई सहजीकरण भइरहेकाे छ।

सन् २००९ को प्रारम्भमा पहिलो लटमा ५० थान बिटक्वाइन सिर्जना गरिएयता हालसम्म झण्डै एक करोड ८७ लाख बिटक्वाइन बनाइएका छन्। नाकामोतोले दुई करोड १० लाख बिटक्वाइन बनाउने श्वेतपत्रमा लेखेका छन्। बिटक्वाइनबाट हुने सीमित भुक्तानी र यसको अस्थिरताका बाबजूद सुनजस्तो बहुमूल्य वस्तुलाई पनि यसले केही वर्षमै उछिन्ने अनुमान गरिएको छ। पछिल्ला दिनहरूमा सुनभन्दा बिटक्वाइनमा लगानी बढ्ने आँकलन गर्न थालिएको छ।

नाइजेरियामा हालैका वर्षहरू झण्डै एक तिहाई मानिसले क्रिप्टोकरेन्सी प्रयोग गर्न थालेयता डलरको तुलनामा नाइजेरियन मुद्रा नाइरा ५० प्रतिशतले अवमूल्यन भएकाे छ।

सन् २०१८ मा बिटक्वाइनको मूल्यमा गिरावट आए पनि गत वर्षको अन्त्यदेखि फेरि यसको मूल्य अकाशिएको छ। गत वर्ष अक्टोबरमा प्रति बिटक्वाइनको मूल्य १२ हजार डलर रहेकामा एक महिना अघिमात्र यसको मूल्य ६० हजार डलरभन्दा बढी पुगेको छ। यस पृष्ठभूमिमा केन्द्रीय बैंक र बजार नियामकहरूले बिटक्वाइनको अस्थिरताका बारेमा सर्वसाधारणलाई सचेत रहन चेतावनी दिएका छन्। उनीहरूले साना लगानीकर्ताले ज्यादै बढी नोक्सानी व्यहोर्नुपर्ने खतरा औंल्याइरहेका छन्। तर स्पष्ट के छ भने केही व्यक्ति एवं कम्पनीले बिटक्वाइनबाट ठूलो लाभ प्राप्त गरेका छन्।

यही पक्षलाई विचार गरी प्रमुख केन्द्रीय बैंकहरूले आफ्नै डिजिटल मुद्राको सम्भाव्यता अध्ययन गर्न थालेका छन्। विद्युतीय कार निर्माता टेस्लाले हालैमात्र बिटक्वाइनमा एक अर्ब ५० करोड डलर लगानी गरेको छ। गत मार्चदेखि टेस्लाले कारको भुक्तानीका लागि यही मुद्रालाई स्वीकार्न थालेको छ। टेस्लाका अर्बपति प्रमुख कार्यकारी एलन मस्कले क्रिप्टोकरेन्सीका गुणका बारेमा सामाजिक सञ्जालमा पनि खुलेरै लेखेका छन्।

अन्य क्रिप्टोकरेन्सीहरू 

बिटक्वाइनका प्रतिस्पर्धी रुपमा धेरै किसिमका क्रिप्टोकरेन्सी विश्व बजारमा छन्। बजारमा दोस्रो स्थानमा हाल इथेरियम छ, र यसको मूल्य यसैसाता २ हजार डलरभन्दा माथि पुगेको छ। केही क्रिप्टोकरेन्सीलाई “स्टेबलक्वाइन्स” पनि भन्ने गरिएको छ जसको मूल्य अमेरिकी डलर बराबर हुने गरेको छ। यी मुद्रामा बिटक्वाइनमा देखिएजस्तो अस्थिरता छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्