दोलखाः जिल्लाकाे बिगु गाउँपालिका–४, सिँगटीमा जीप दुर्घटना हुँदा चार जनाको निधन भएको छ। दुर्घटनामा १७ जना घाइते पनि भएका छन्।
बागमती प्रदेश ०१ ०२३च ७५८० नम्बरको जीप सोमबार राति ११ बजे सिँगटीनजिकैको चारगोलाईमा सडकबाट खसेर दुर्घटना भएको हो।
बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्काकाे दुर्घटनामा परी निधन भएकाे छ। दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालकाअनुसार उनीहरू सबै एकै गाउँका हुन्।
दुर्घटनाका घाइतेकाे चरिकाेट र धुलिखेल अस्पतालमा उपचार भइरहेकाे छ। गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा क्षमताभन्दा बढी यात्रु बाेकेकाे कारण उकालाे र कच्ची बाटाेमा चालकले घुम्तीमा राम्ररी काट्न नसक्दा दुर्घटना भएकाे खुलेकाे छ। जीपमा सवार यात्रु तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै थिए।
प्रतिक्रिया