एजेन्सीः दक्षिण अफ्रिका र पाकिस्तानबीचकाे पहिलाे टी ट्वेन्टी श्रृङ्खलामा पाकिस्तानले जीत हासिल गरेकाे छ। शनिबार भएकाे खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेकाे हाे।
पाकिस्तानकाे जीतमा ओपनर माेहम्मद रिजवानले मुख्य भूमिका निर्वाह गरे। उनले ५० बलमा ९ चौका र २ छक्का सहित ७४ रनकाे अविजित पारि खेलेका थिए। एक सय ८९ रनको बलियो विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेकाे थियाे। जीतसँगै चार खेलकाे श्रृङ्खलामा पाकिस्तानले १–० को अग्रता लिएको छ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले १४, यसअघिकाे एकदिवसीयमा उत्कृष्ट खेलाडी भएका फखार जमानले २७, मोहम्मद हफिजले १३ र हैदर अलीले १४ रनकाे याेगदान दिए।
यता दक्षिण अफ्रिका बेउरन हेंड्रिक्सले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए भने तबरेज शाम्सीले २ विकेट लिएका थिए।
टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ८८ रन बनाएको थियो। दक्षिण अफ्रिका ओपनर एडेन माक्ररमले ३२ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ५१ रनको पारी खेलेका थिए। दक्षिण अफ्रिकी कप्तान हेनरिक क्लासेनले २८ बलमा २ चौका र ५ छक्का सहित ५० रनकाे पारी खेले।
यी दुई टाेलीबीच दोस्रो खेल सोमबार साँझ ६ः१५ मा शुरु हुनेछ।
प्रतिक्रिया