काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) केन्द्रीय कार्यसमितिद्वारा आयोजित राष्ट्रिय भेला तथा विधान अधिवेशनको आज यहाँ उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले निर्वाचन बाध्यता हुनसक्ने बताए । “सरकार गठन भए ठीकै भयो, भएन भने निर्वाचनमा जानुपर्ने हुन सक्छ, निर्वाचन बाध्यता हुन सक्छ । पार्टीको सरकार भएन भने पनि देशको निर्वाचन तथा पार्टीको अधिवेशनमा लाग्नुपर्नेछ । वर्तमान सरकारको विकल्प पनि खोज्नुपर्ने छ, यी दुवै काम प्राथमिकतामा छन्”, उनले भने ।
वर्तमान सरकारको विकल्प खोज्ने गरी सत्ता समीकरणको चर्चा चलिरहेका बेला कांग्रेस सभापति देउवाको यस्तो भनाइ आएको हो । सत्ता साझेदारीका विषयमा सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) तथा प्रतिपक्षमा रहेको जनता सामाजवादी पार्टीबीच छलफल चलिरहेको छ ।
सरकार हटाउन पार्टीले सक्रियता नदेखाएको भन्ने पार्टीका नेताको भनाइप्रति लक्षित गर्दै कांग्रेस सभापति देउवाले वास्तविकताको धरातलमा उभिएर अघि बढ्न पार्टी पङ्क्तिलाई निर्देशन दिए । उनले भने, “अहिलेको वास्तविकता बुझिदिनुस्, संसद्मा सङ्ख्या कम छ, दुई पटक बैठक बोलाउन प्रयास गरेकामा सङ्ख्या नै नपुगेर स्थगित भयो । नेपालको संविधानअनुरुप एक चौथाइ सदस्यले संसद् बोलाउन पनि हामीसँग सङ्ख्या पुग्दैन, त्यसैले यो गरेन त्यो गरेन भनेर नेतृत्वलाई आरोप मात्रै लगाएर हुन्न ।”
प्रतिक्रिया