सुर्खेतः मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वकाे कर्णाली प्रदेश सरकार संकटमा परेकाे छ। सत्ता साझेदार नेकपा एमालेले आज आइतबार समर्थन फिर्ता लिने बताएपछि प्रदेश सरकार अल्पमतमा परेकाे हाे। कर्णाली प्रदेश सरकारलाई यसअघि नै एमालेकाे केपी शर्मा ओली समूहले दिएकाे समर्थन फिर्ता लिइसकेकाे छ। आइतबार एमाले नेता माधव नेपाल समूहका सांसदसमेत सम्मिलित संसदीय दलकाे बैठकले नयाँ सरकार बनाउने निर्णय गर्दै आफ्ना मन्त्रीहरुलाई सामूहिक राजीनामा दिन लगाएकाे छ।
साेमबारसम्म मन्त्रीहरूले राजीनामा दिने बताइएकाे छ। प्रदेश अर्थमन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग मन्त्री नन्दसिंह बुढाले राजीनामा दिने बताइएकाे छ।
यसअघि गत चैत ४ मै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो। यद्यपि साे घाेषणामा माधवकुमार नेपाल समूहका सांसदकाे उपस्थित र समर्थन थिएन। आइतबारको बैठकबाट भने दुवै पक्षले समर्थन फिर्ता लिएकाे हाे।
प्रतिक्रिया