कास्कीः गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासकाे मत लिने भएका छन्। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त भएकाे ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने भएकाले उनले आज प्रदेश सभामा विश्वासकाे मत लिने भएका हुन्।
प्रदेश सभा सचिवालयका अनुसार बिहीबार मध्याह्न १२ बजेको लागि बोलाइएको प्रदेश सभा बैठकमार्फत मुख्यमन्त्री गुरुङले विश्वासकाे मत लिनेछन्। यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
पछि विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेकाे भन्दै प्रदेश प्रमुखद्वारा ठूलो दलको नेताको हैसियतले गुरुङलाई मुख्यमन्त्री नियुक्त गरिएकाे थियाे।
गण्डकी प्रदेश सभामा ६० सदस्य रहेका छन्। आज विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ। संसदकाे अंक गणीतअनुसार एमालेका २७ सांसद छन् भने कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन्।
तर ३२ मध्ये एक जना सभामुख र अर्का हालसालै सर्वाेच्चले पुनर्बहाली गरिदिएकाे जनमोर्चाका सांसद कृष्ण थापा रहेका छन्। उनले गुरुङलाई साथ दिने स्पष्ट धारणा दिइसकेकोले विपक्षीसँग जम्मा ३० सांसद रहनेछन्।
यद्यपि गण्डकी प्रदेशमा दीपक मनाङे निर्णायक रहेका छन्। उनले गुरुङलाई साथ दिए गुरुङले विश्वासकाे मत पाउने र विपक्षीलाई साथ दिए विपक्षीले बहुमत जुटाउने अवस्था रहेकाे छ।
यसअघि पनि मुख्यमन्त्रीलाई मनाङेकै साथले जाेगाएकाे थियाे। त्यसवापत मनाङेले युवा तथा खेलकुद मन्त्रालय पनि पाएका थिए। यसपटक भने उनले खेमा परिवर्तन गरेका छन्।
याेसँगै विपक्षी गठबन्धनका मुख्यमन्त्री उम्मेदवार कृष्णचन्द्र पाेखरेलले बहुमत जुटाउने सम्भावना बढेकाे छ। मतदान गर्ने बेलासम्म सांसदहरू स्थीर रहे मुख्यमन्त्री गुरुङले विश्वासकाे मत नपाउने लगभग निश्चित छ।
प्रतिक्रिया