काठमाडाैंः सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चार/चार लाख दिने निर्णय गरेको हाे।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा गत सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो। नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए। साे उपाधिसँगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधिविहीन यात्रालाई अन्त्य गरेकाे थियाे।
नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रंगशाला पुगेका थिए। नेपालको तर्फबाट गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरेका थिए।
यसअघि नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि विजेता खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ भने उपाधि स्वरुप पाएकाे पाँच हजार डलर पनि वितरण गरिने बताइएकाे छ।
प्रतिक्रिया