साेलुखुम्बु : रातो हाब्रेको छालासहित तीन जना पक्राउ परेका छन्। जिल्लाकाे महाकुलुङ गाउँपालिकाबाट रातो हाब्रेकाे सातवटा छाला र पाँच पासोसहित उनीहरूलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले घरैबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा महाकुलुङ–२ का ७६ वर्षीय जगतबहादुर राई, ५६ वर्षीय कवीर शङ्कर राई र ५७ वर्षीय मितुरधन राई रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ। उनीहरूलाई मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रभित्र गैरकानूनी रुपमा वन्यजन्तुको चोरी शिकार गरी मार्ने, आखेटोपहार लुकाइछिपाई राखी खरीदबिक्री गर्ने तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कवित कटुवालले जानकारी दिए।
अनुसन्धानका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएका तीनै जनालाई कानुनी कारवाहीका लागि राष्ट्रिय निकुञ्ज पठाइने बताइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा (२६) को १ अनुसार पक्राउ परेकाहरूलाई रू पाँच लाखदेखि रू १० लाखसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद सजाय या दुवै हुन सक्ने प्रावधान छ।
प्रतिक्रिया