देशको शानलाई झण्डी बनाई, मजाले सरकार चलिरहेछ
संविधानलाई शिखण्डी बनाई, मजाले सरकार चलिरहेछ !
कहाँ मरेको छ हौ गणतन्त्र, हेर न सास त चलिरहेछ
अब नाड़ी त सुस्त हुन्छ नि, अहिले उपवास चलिरहेछ
भाषण पोख्छन् भाषण ठोक्छन्, भाषणले घरबार चलिरहेछ
संविधानलाई शिखण्डी बनाई, मजाले सरकार चलिरहेछ !
संसद ठूलो कि सांसद ठूलो, गजबको विवाद चलिरहेछ
ठूलै–ठूलाको बात– बातमा, घात–प्रतिघात चलिरहेछ
श्रीपेचबिनाका राजाहरूको, ‘भर्चुअल’ दरबार चलिरहेछ
संविधानलाई शिखण्डी बनाई, मजाले सरकार चलिरहेछ !
देशको शानलाई झण्डी बनाई, मजाले सरकार चलिरहेछ
संविधानलाई शिखण्डी बनाई, मजाले सरकार चलिरहेछ !
– सी.के.श्रेष्ठ
मङ्गलधाम, कालिम्पोङ्ग
प्रतिक्रिया