काठमाडौंः शहरी विकास मन्त्रालयले सन्थाल जातिका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ। मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा बस्ती निर्माणको लागि मन्त्रालयले गुरुयाेजनासमेत तयार गरिसकेको छ।
मङ्गलबार फागुन १८ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बस्तीकाे शिलान्यास गर्ने छन्। उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत बस्ती विकास गर्ने सम्पूर्ण तयारी भइसकेको शहरी विकास मन्त्रालयले जनाएको छ।
सन्थाल एकीकृत बस्ती विकास कार्यक्रमको लागि साेही समुदायमा गइ गरिएको सर्भेक्षणअनुसार उक्त नगरपालिकामा १०६ परिवार सन्थाल र २६ परिवार उराव जातिको जग्गा नभएको र २७ परिवार सन्थाल जातिको घर बनाउन पुग्ने आफ्नै जग्गा भए पनि आफ्नो घर बनाउन नसक्ने स्थिति रहेको थियाे।
साेही तथ्यांकलाई मध्यनजर गर्दै मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो। बस्ती निर्माणका लागि रू ३० करोड खर्च हुने जनाइएको छ।
मन्त्रालय मातहतको सघन शहरी तथा भवन निर्माण विभागका अनुसार रातोहोलीको उत्तर दक्षिण फैलिएको ७८० मिटर लम्बाई भित्र पर्ने करिब ५२,८२८ व.मी. जग्गामध्ये ३१,७६८ व.मी. जग्गामा सन्थाल एकीकृत बस्ती विकास गर्न लागिएको हो।
एकीकृत बस्ती विकास सम्बन्धि कार्यविधि, २०७५ अनुसार नै सन्थाल बस्तीको निर्माण स्थानिय प्रविधि, सीप र सामाग्री प्रयोग गरी प्रत्येक परिवारका लागि कम्तीमा २ सयन कोठा, एक भान्साघर र एक शौचालयको व्यवस्था गरिने विभागले जनाएको छ।
समग्र बस्तीका लागि भने आवश्यक पर्ने अन्य सामाजिक तथा आर्थिक पूर्वाधार अन्तर्गत सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाई, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको निर्माण गर्नेगरी गुरुयाेजना तयार गरिएको छ। मन्त्रालयले उर्लाबारीको सम्भावित चार वटा स्थानहरु रातोहोली खोल्सीको जग्गा, बक्राहा खोला किनारा रातोहोली पारीको क्षेत्र, मावा खोला किनारा क्षेत्र तथा नारी शिल्प केन्द्रको जग्गामध्ये रातोहोली खोल्सीको जग्गामा सो बस्ती निर्माण गर्ने निर्णय भएको थियो।
शहरी विकास मन्त्रालयअन्तर्गत यसअघि गत माघ १७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको भरतपुर महानगर सिटी हलको शिलान्यास गरेका थिए। मन्त्री प्रभु साहले शहरी विकास मन्त्रालय सम्हालिसकेपछि मन्त्रालयकाे याे ठूलाे तथा दाेश्राे महत्त्वपूर्ण परियाेजना हाे।
यस बस्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीलेसमेत विशेष चासाे तथा महत्त्वका साथ हेरेकाे शहरी विकास मन्त्रालयले बताएकाे छ।
यस्ताे बन्नेछ एकीकृत सन्थाल बस्ती
प्रतिक्रिया