काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले कुलमान बर्खास्तीविरुद्धको आन्दोलनलाई लक्षित गर्दै त्यसको केही अर्थ नभएको बताएका छन् ।
राजधानीमा काङ्ग्रेस नेता सुजाता कोइरालाको आत्मकथा ‘म र सानोबुबा’ विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘केही व्यक्तिहरू इस्यु पाइयो भनेर लागेका छन् । तिललाई पहाड बनाउन लागेका छन् । त्यसको केही अर्थ छैन,’ उनले भने ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को निर्णयको बचाउ गरे । ‘सरकारले बाहिरबाट ल्याएको होइन । त्यहीँको मान्छेलाई नियुक्त गरेको हो ।
नियुक्तिको भोलिपल्ट चिम बोकेर आउनुभयो कि ट्रान्समिसन लाइन बोकेर आउनुभयो ?
उनले भने, हिजो त्यही काम गरेको अर्को एक जनालाई निकालेर काम नभएको पद, ठाउँमा सरुवा गरिदिनुभयो। अनि रिटायर्डलाई ल्याएर राखिदिनुभयो।
अघिल्लो सरकारले उहाँलाई (हितेन्द्र शाक्य) लाई निकम्मा बनाएर सरुवा भनेर अन्त पुर्याएको थियो । सरकारले उहाँलाई फेरि ल्याएको हो ।
वर्षौँदेखि लगाएर गरेको कामलाई जादु चमत्कार भनिएको छ त्यसका कोही पनि साथीहरूलाई भ्रममा नपर्न आग्रह गर्दछु,’ उनले भने ।
एउटा व्यक्तिलाई संस्था मानेर अघि बढ्न नहुने उनले बताए । सरकार देश र जनताको हितमा काम गर्न अग्रसर रहेको बताए ।
‘अहिले म सरकारको नायक छु । १५ महिनापछि शेरबहादुर देउवाजी सरकारको नायक बन्नु हुनेछ ।
जो भएपनि देश र जनताको हितका लागि काम गर्नुपर्छ । सरकार देश र जनताको हितमा क्रियाशील छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सुदृढ र परिष्कृत बनाउँदै सरकार अघि बढ्ने दाबी समेत गरे ।
प्रतिक्रिया