काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीको विगत दुई वर्षदेखि जारी नामको विवाद टुङ्गो लाग्ने भएको छ। सर्वोच्च अदालतले आगामी फागुन २० गते 'नेकपा' नाम विवादबारे अन्तिम फैसला सुनाउने भएको हो।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीसँग मिल्ने गरी ओली–प्रचण्डलाई नाम दिएको भन्दै निर्वाचन आयोगविरुद्ध २ वर्ष पहिले नै रिट दायर गरेका थिए।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसपछि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । उक्त उजुरीमा सुनुवाइ गर्दै निर्वाचन आयोगले २०७५ कात्तिक ९ गते केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेको थियो ।
उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो। सुनवाइ सकिए पनि सर्वोच्चले फैसला भने २० गते मात्रै सुनाउने बताइएको छ । ओली–प्रचण्ड नेतृत्वकै नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले उक्त रिटमाथि सुनुवाइ गरेको हो।
प्रतिक्रिया