सुदुर पश्चिमको कञ्चनपुरमा ढुंगा प्रहार गरेर पूर्व शिक्षकको हत्या भएको छ। ढुंगा प्रहार गरेर बेलौरी नगरपालिकाका ६४ वर्षीय लक्षी चन्दको हत्या भएको हो।
बुधबार राति घरनजिकै सामान्य विवादमा चन्दमाथि ढुंगा प्रहार भएको थियो। घाइते चन्दको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीकाअनुसार घटनामा संलग्न बैतडीको दोगडाकेदार गाउँपालिका–४ का ३५ वर्षीय महेश भण्डारी पक्राउ परेका छन्। उनी केहीदिन अघि मात्रै बेलौरी नगरपालिका–६ स्थित आफन्तकोमा आएका थिए।रक्सीले मातेका भण्डारीले सामान्य विवादमा चन्दमाथि ढुंगा प्रहार गरेको खुलेको छ।
‘त्यस्तो ठूलो विवाद केही देखिएको छैन। मादक पदार्थ सेवन गरेर हिँडेका बेला विवाद हुँदा घटना भएको देखिन्छ,’ डीएसपी जोशीले भने, ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’
भण्डारीको आक्रमणबाट चन्दको टाउकोमा गम्भीर चोट लागेको थियो। श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारका क्रममा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि भण्डारी भागेका थिए। बाक्लो संख्यामा प्रहरी र तालिम प्राप्त कुकुरको सहायताले बिहीबार बिहान ४ बजे उनलाई गाउँबाटै नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया