काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अर्को समूहमा विभाजित पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एक घण्टा लामो भेटवार्ता गरेका छन्। संसद पुनर्स्थापनापछि नयाँ सरकार गठनका लागि सत्ता समीकरणको कसरत भइरहेका बेला गौतमले प्रचण्डलाई भेटेर नयाँ प्रस्ताव गरेको छन्।
‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न’ गौतमले प्रस्ताव गरेका स्रोतले बताएको छ। उनले पार्टी एकतालाई कायम राखेरै अघि वढ्न पनि प्रचण्डलाई सुझाएका बुझिएको छ। ‘वामदेव कमरेडको प्रस्तावमा प्रचण्ड कमरेड पनि सकारात्मक हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘एकताको वातावरण बनाइराख्नका लागि सक्रिय हुन पनि प्रचण्डले भन्नु भएको छ।’
उनले यसअघि बुधबार पनि विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय ओली–प्रचण्डलाई पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए।
प्रचण्डलाई भेट्न गौतम आज बिहान सातै बजे प्रचण्ड निवास खुमलटार पुगेका थिए।
सर्वोच्च अदालतले संसद विघटनको कदम खारेज गरिदिएपछि उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने र पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुपर्ने धारणा राख्दै आएका छन्।
प्रतिक्रिया