सिराहा- हाम्रो समाजमा सामुदायिक विद्यालयका विद्यार्थीका आफ्नै समस्या छन्। विद्यालयमा हुनुपर्ने आधारभुत आवश्यकता जस्तै शौचालय, खानेपानी, पुस्तकालय आदिको व्यवस्था पनि नेपालका धेरै विद्यालयमा छैन। विद्यार्थीहरुले यस्ता आधारभुत आवश्यकताका लागि आन्दोलन गरेको घटना खासै समाचारमा आएको पाइदैन। यीनै विद्यार्थी कहिलेकाहीँ अरुकै लागि प्रयोग हुने गर्दछन्।
त्यस्तै भएको छ, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा । जहाँ विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाएको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरिदिएका छन्। निजी स्रोतमा कार्यरत विद्यालयका चार शिक्षकले गत चैत महिनादेखि तलब सुविधा नपाएको भन्दै पठनपाठन बन्द गरेपछि विद्यार्थी पनि आन्दोलनमा उत्रिएका हुन्। विद्यार्थीले आफ्ना शिक्षकलाई तत्काल तलब उपलब्ध नगराए गाउँपालिका कार्यालयमै तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन्।
विद्यालयका निमित्त प्रधानाध्यापक अरुणकुमार यादवले यस विषयमा गाउँपालिकालाई पटकपटक लिखित अनुरोध गर्दा पनि कुनै सम्बोधन नभएका बताएका छन्। लक्ष्मीपुर पतारी-५ का वडाध्यक्ष महेन्द्र साहले भने शिक्षकलाई तलब खुवाउने विषयमा गाउँपालिकासँग समन्वय भइरहेको र चाँडै शिक्षकलाई तलब खुवाउने प्रतिबद्दता जनाए।
तालाबन्दीका कारण विगत तीन दिनदेखि विद्यालयको पठनपाठन अवरुद्ध भएको छ।
प्रतिक्रिया