काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् । माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीका गरि ५९ सांसदको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीको दाबी गरेका हुन् ।
बहुमतका लागि ५५ सांसद आवश्यक पर्दछ । तत्कालीन नयाँ शक्ति पार्टीबाट रसुवामा विजयी प्रेमबहादुर तामाङसहित गठबन्धनको पक्षमा ५९ सांसद छन् । हाल कायम कूल १०९ सांसदमा गठबन्धनबाट माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सांसद छन् ।
३ सांसद रहेको विवेकशील साझा पार्टीले पाण्डेलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर नगर्ने भएको छ । २÷२ सांसद रहेका नेपाल मजदुर किसान पार्टी र राप्रपाले पनि पाण्डेलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर नगर्ने भएका छन् । ४३ सांसद रहेको एमाले प्रमुख प्रतिपक्ष हुने भएको छ ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि पाण्डे नयाँ मुख्यमन्त्री बन्न लागेका हुन् । बिहीबार नै गठबन्धनका दलबाट १÷१ जनाले मन्त्रीको शपथ लिने बताइएको छ । नयाँ सरकार गठनको दाबी गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन् ।
प्रतिक्रिया