काठमाडौँ : सुस्तामा नेपाल–भारत सीमांकन गरेर सुस्ता गाउँपालिका–५ मा जंगे पिलर राख्न माग गरेका छन् । ’सुस्ता बचाउ’ अभियानकर्मीहरुले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर चार बुँदे ज्ञापनपत्र पेश गरेका छन् ।
मागपत्रमा अभियानकर्मीहरुले सन् १९६५ देखि सुस्ताबासीले उपभोग गर्दै आएको जमिन सर्वे गरेर लालपुर्जा दिनुपर्ने, नेपाल–भारत सीमांकन गर्नुपर्ने, जंगे पिलर राख्नुपर्ने र स्थानीयलाई नागरिकता उपलब्ध गराउनुपर्ने माग गरेका छन् । उक्त ज्ञापनपत्र संविधानसभा सदस्यद्वय देवकरण कलवार र विक्रम खनालले बुझाएका हुन् ।
सरकारले तत्काल सीमांकनको कुरा टुंग्याएर जंगे पिलर राख्नुपर्ने बताएका छन् । भेटका क्रममा गृहमन्त्री खाणले उक्त मागहरु सम्बोधन गर्न आफू सकारात्मक भएको बताएका हुन् ।
अन्य मन्त्रालयसँग सरोकार राख्ने विषयमा सम्बन्धित मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाउन उनले आग्रह गरेका छन् । सीमांकन गर्ने, सशस्त्र प्रहरी परिचालन गर्ने र भूमि बचाउने विषयमा आफू सकारात्मक रहेको गृहमन्त्री खाणको भनाइ थियो ।
सुस्ता क्षेत्रबारे १४ वर्षअघि नेपाल र भारतका अधिकारी यसलाई ’आउटस्ट्यान्डिङ’ अर्थात् ’नटुंगिएको मुद्दा’का रूपमा थाती राख्न सहमत भएका थिए । उनीहरूले त्यसलाई ’उच्च कूटनीतिक र राजनीतिक तहको वार्ताबाटै समाधान गरिनुपर्ने’ विषयका रूपमा प्रतिवेदनमा समावेश गरेका थिए ।
प्रतिक्रिया