काठमाडौँ : प्रमुख विपक्षी दल नेकपा एमालेले रुपन्देहीको मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको विषयमा सरकारको जवाफ मागेको छ । राष्ट्रियसभा बैठकको सुरुमै बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक बनेको आरोप लगाए ।
‘आज अरुका लागि दसैँ आएको छ, सुकुम्बासीका लागि दशा आयो । त्यही जिल्लाका गृहमन्त्री हुनुहुन्छ, उहाँले के सोचिरहनुभएको छ ?’ उनले प्रश्न गरे, ‘कुन नैतिकताका आधारमा उहाँ कुर्सीमा बसिरहनुभएको छ ? मलाई उदेक लाग्छ ।’
आइतबार बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो । सांसद भट्टराईले यो घटनाले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको बताए ।
उनले मोतीपुर घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेको उपचारका प्रबन्ध गर्न, मृतकको क्षतिपूर्तिको प्रबन्ध गर्न पनि माग गरे ।
सुकुम्बासी मारिँदा पनि सरकारले केही प्रतिक्रिया नदिएको भन्दै सांसद भट्टराईले सरकार आँखा, कान र मुख नभएको जस्तो देखिएको बताए ।
अहिलेको सरकारका कारण लोकतन्त्र र गणतन्त्र कमजोर भएको पनि उनले बताए ।
प्रतिक्रिया