लेटेस्ट न्युज
advertisement1

डडेल्धुराको वडा अधिवेशनबारे पौडेल समूहभित्रै पुनः मतभेद

Maryada News 2021-09-17 03:42:10
डडेल्धुराको वडा अधिवेशनबारे पौडेल समूहभित्रै पुनः मतभेद

काठमाडौं: सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धरामा भएको नेपाली कांग्रेसको वडा अधिवेशनको विरोध गर्दै आएको पौडेल समूहभित्र पुनः अधिवेशनबारे मतभेद देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका देउवाले राज्यशक्तिको दुरुपयोग गरेर एउटा पक्षलाई बाहिर राखेर अधिवेशन गरेको पौडेल पक्षको आरोप छ ।

उक्त वडा अधिवेशन स्वीकार्य नहुने बताएको पौडेल समूहमा फेरि वडा अधिवेशन गर्ने वा नगर्ने विषयमा मतान्तर देखिएको हो । बिहीबार पौडेलसहितका नेताहरु डडेल्धुराको वडा अधिवेशनलाई मान्यता नदिन केन्द्रीय निर्वाचन समितिलाई ध्यानाकर्षण गराउन पार्टी कार्यालय सानेपा पुगेका थिए ।

‘हजारौं प्रहरी परिचालन गरेर डडेल्धुरामा अधिवेशन भएको छ, यसबारेमा हामीले निर्वाचन समितिको ध्यानाकर्षण गराएका हौं, तर त्यहाँ फेरि अधिवेशन हुने सम्भावना म देख्दिन’ महामन्त्री शशांक कोइरालाले भने । निर्वाचन समितिका पदाधिकारी र सदस्यसँग झण्डै दुई घण्टा लामो छलफलमा पौडेलपक्षका नेताहरुले डडेल्धुरामा फेरि अधिवेशन हुनुपर्ने माग राखे ।

उनीहरुले जिल्ला सभापति र जिल्ला कार्यसमितिका बहुमत सदस्यको सहभागिताबिना भएको अधिवेशनलाई मान्यता दिन नहुनेमा जोड दिएका थिए । ‘डडेल्धुरामा धाँधलीपूर्णरुपमा राज्यको शक्ति दुरुपयोग गरिएको छ,’ नेता पौडेलले भने, ‘एउटा पक्षलाई बाहिर राखेर गरिएको अधिवेशन हामीलाई मान्य छैन । त्यहाँ फेरि अधिवेशन हुनुपर्छ ।’

पौडेलसहितका नेताहरुले ५ असोजका लागि तोकिएको वडा अधिवेशनको मितिैदिन डडेल्धुरामा पनि अधिवेशन गर्नुपर्ने माग गरेका थिए । छलफलमा नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, सुजाता कोइराला, डा. शेखर कोइराला, गगनकुमार थापालगायत सहभागी थिए ।

छलफलमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले डडेल्धुरामा निर्वाचन अधिकृतको भूमिकामाथि प्रश्न उठाएका थिए । उनले निर्वाचन अधिकृतको भूमिका निष्पक्ष नभएको बताए ।तर कांग्रेस महामन्त्री कोइरालाले भने डडेल्धुरामा फेरि वडा अधिवेशन सम्भव नभएको बताए ।

निर्वाचन समितिसँगको छलफलपछि सानेपामा पत्रकारलाई प्रतिक्रिया दिँदै महामन्त्री कोइरालाले डडेल्धुरामा फेरि अधिवेशन हुने सम्भावना नरहेको बताएका हुन् ।‘हजारौं प्रहरी परिचालन गरेर डडेल्धुरामा अधिवेशन भएको छ, यसबारेमा हामीले निर्वाचन समितिको ध्यानाकर्षण गराएका हौं,’ उनले भने, ‘तर त्यहाँ फेरि अधिवेशन हुने सम्भावना म देख्दिन ।’

उनले आफूहरुले बाँकी जिल्लामा निष्पक्ष र धाँधलीरहित ढंगले अधिवेशन गर्न निर्वाचन समितिको ध्यानाकर्षण गराएको बताए । डडेल्धुरामा फेरि वडा अधिवेशन गर्नुपर्ने पौडल समूहको मागप्रति निर्वाचन समिति सकारात्मक छैन ।

समिति संयोजक महादेव यादवले डडेल्धुरामा फेरि अधिवेशन गराउँदा बाँकी जिल्लामा पनि अधिवेशन गराउन सहज नहुनेतर्फ नेताहरुको ध्यानाकर्षण गराएका थिए ।‘डडेल्धुरामा अधिवेशनको विषय प्रमुख होइन, त्यहाँ फेरि अधिवेशन गराउनेवित्तिकै अन्य जिल्लामा पनि यस्तो समस्या दोहोरिन सक्छ,’ उनले भने, ‘निर्वाचन समिति निष्पक्ष अधिवेशनको पक्षमा छ ।

हाम्रोतर्फ कहीँ पनि समस्या छैन ।’ डडेल्धुराको विषय राजनीतिक मुद्धा भएकाले पार्टीबाटै समाधान खोज्न समिति संयोजक यादवले सुझाएका थिए । १४ औं महाधिवेशन अन्तर्गत २५ भदौमा डडेल्धुरामा वडा अधिवेशन भइसकेको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको क्रियाशील सदस्यताप्रति असन्तुष्टि जनाउँदै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले वडा अधिवेशन बहिस्कार गरेको थियो । जिल्लाबाट पठाइएको क्रियाशील सदस्यता सूचीमा केन्द्रबाट थपघट भएको मल्ल पक्षको आरोप छ ।

जिल्ला सभापति मल्ल नेता पौडेल पक्षका हुन् । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले डडेल्धुराको वडा अधिवेशनबारे जिल्ला सभापति मल्लले दिएको उजुरीबारे अध्ययन भइरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्