काठमाडौं: यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले असोज ८ र ९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।
विभागका महानिर्देशक नमराज घिमिरेकाअनुसर दशैंमा उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ । ‘प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालयमा पनि यसबारे छलफल भएको छ,’ उनले भने,’दशैंमा सुरक्षित तवरले यात्रुलाई घरसम्म पु¥याउन फेरि छलफल गरेर बुकिङ शुरु हुने मिति टुंग्याउँछौं ।’
कोरेनाको महामारी शुरु हुनअघि दशैंमा करिब २० देखि २५ लाख यात्रुले उपत्यका छाड्ने गरेका थिए । गत वर्ष भने सो संख्या आधा घटेको थियो । अहिले संक्रमणको लहर कम भएकाले यो वर्ष दशैंमा घर जानेको संख्या गत वर्षभन्दा धेरै हुने अनुमान थियो ।
गत वर्ष सरकारले अग्रिम टिकट बुकिङ नखुलाउँदा बाहिरिने यात्रुले अनेकन सकस भोग्नु परेको थियो ।
दशैंमा सार्वजनिक सवारीमा हुने भिडभाडको मौका छोपी बढी भाडा लिएर ठगी हुने गर्छ । त्यसलाई रोक्न र सहजसँग घर जाने वातावरण बनाउन अग्रिम बुकिङ खुलाउने गरिएको छ ।
प्रतिक्रिया