चितवनः नारायणगढ–मुग्लिङ सडकखण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ। अविरल वर्षा र पहिराेका कारण सडक अवरुद्ध भएकाे हाे।
बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिए पनि अन्य समय पहिराेले सडक अवरुद्ध रहेको हो। डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ। शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुईघण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उनले जानकारी दिए।
त्यस पछि पुनः चारकिलो र पाँचकिलोमा पनि पहिरो खसेको हो। नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरूमा पहिलोपटक पहिरो खसेको हो। उनले भने, “मैले यो सडकमा काम गरेको ६ वर्ष भयो। पहिलो पटक यहाँ पहिरो खसेको हो।”
सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ। पहिरो रोकीएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भएपनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उनकाे भनाइ छ। चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो। सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा व्रेकर र दुईवटा जेसिबी परिचालन गरिएको छ।
सडक अवरुद्ध हुँदा विवाह लगायतका अत्यावश्यक काममा हिड्ने प्रभावित भएका छन्। ठूलो सङ्ख्यामा सवारीसाधनमा आएका यात्रुहरू सडकमा नै बिचल्लीमा परेका छन्। शुक्रबार विवाहका लागि हिडेका बेहुलाहरूको बिचल्ली परेको सामुहिक तस्विरहरू सार्वजनिक भएका थिए।
यसै गरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। लेदो खसिरहेकाले सडक दुईतर्फी अवरुद्ध भएको छ।
प्रतिक्रिया