काठमाडाैंः विश्वकप छनाैटअन्तर्गतकाे खेलमा आज नेपाल र जाेर्डन भीड्दै छन्। कुवेतकाे राजधानीमा अवस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा नेपालले बलियाे टाेली जाेर्डनकाे सामना गर्ने भएकाे हाे।
खेल नेपाली समयअनुसार राति ९:४५ बजेबाट शुरु हुनेछ।
यसअघि नै विश्वकप छनाैटकाे सम्भावना समाप्त भइसके पनि एसिया कप छनाैटका लागि भने नेपालले आजकाे खेल जित्नै पर्ने दबाब रहेकाे छ। नेपाली टाेलीका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले पनि आज जितका लागि खेल्ने बताएका छन्।
'हरेक खेल शुन्यबाट शुरु हुन्छ र परिणाम मैदानको प्रदर्शनमा भर पर्दछ। हाम्रो लक्ष्य शुरुबाट खेल जित्ने छ।' प्रि-म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताईरीले भने, 'हाम्रो लक्ष्य एसिया कपमा छनैट हुनु हो। यसका लागि जोर्डनविरुद्ध जित आवश्यक छ।'
यसअघिकाे खेलमा नेपालले चाइनिज ताइपेईलाई २-० काे गाेल अन्तरले हराएकाे थियाे। साे जितका कारण पनि नेपाली टाेलीकाे मनाेबल उच्च रहेकाे छ।
यता जोर्डनका प्रशिक्षक वाइटल बोर्केलमान्सले नेपाली टाेलीलाई हल्का रूपमा नलिने बताएका छन्। पछिल्लाे दुई खेललाई नियालेकाे र नेपालकाे खेल्ने शैलीमा परिवर्तन आएकाे भन्दै उनले आफूहरू पूर्ण तयारीका साथ मैदानमा उत्रिने बताए।
प्रतियाेगितकाे समूह 'बी' मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ। नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
हालसम्म नेपालले जोर्डनविरुद्ध तीन खेल खेलेको छ। त्यसमध्ये दुईमा हार र एकमा बराबरीमा खेल टुंगिएकाे छ।
प्रतिक्रिया