हुम्लाः खार्पुनाथ गाउँपालिका–३ को कारङ्गा गाउँका २० घरधुरी ढुङ्गा खस्न सक्ने उच्च जोखिममा रहेका छन्। गाउँको माथिपट्टिको भिरमा ठूलोठूलाे ढुङ्गा रहेको र त्यो खस्न थालेपछि ती घरधुरी उच्च जोखिममा परेका हुन्।
कारङ्गा गाउँका बस्तीमा ढुङ्गा खस्न थालेपछि पहिरोको उच्च जोखिममा परेको स्थानीयवासी हिर सिंहले बताए। बस्तीमाथिको जमीन भासिँदै गएपछि कारङ्गा गाउँ पहिरोको उच्च जोखिममा रहेको हो।
बस्तीभन्दा करिब एक सय मिटरमाथि जमिन भासिएको छ। गाउँपालिकाले कुनै वास्ता नगरेको तथा प्रहरी एक पटक आएर माथिपट्टि रहेको ढुङ्गाको अनुगमन गरेको तर त्यसपछि सम्बन्धित निकायले कुनै प्रक्रिया अगाडि नबढाएको सिंहले बताए।
याेसँगै लगातारकाे वर्षाले अचानक ढुङ्गा खसेर जिउधनको क्षति हुनसक्ने सम्भावना झनै बढेकाे छ। वडाध्यक्ष गुमान बुढाले ढुंगा खस्ने समस्याप्रति जानकार रहेकाे बताए। उनले समाधान गर्न प्रयास गरिने पनि बताए।
प्रतिक्रिया