भारतको उत्तराखण्डको एक तपोवन इलाकामा हिजो आइतबार बिहान १० बजे हिमनदी टुक्रिएर ऋषिगंगा नदीमा बाढी आएपछि मर्नेको संख्या १ सय ५३ पुगेको आशंका गरिएको छ। बाढी आएपछि धौलीगंगाको बाँध बगेको थियो।
ऋषिगंगाको पावर प्रोजेक्ट र तपोवनमा एनटीपीसी प्रोजेक्ट साइटमा सबैभन्दा बढी क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हालसम्म अलगअगल ठाउँबाट १४ जनाको शव बरामद भएको जनाइएको छ।
एनटिपिसी परियोजना साइटमा भएका दुई वटा टनेलमध्ये पहिलो सुरुङमा फसेका १६ जनाको उद्धार गरिएको छ भने दोस्रोमा पनि ३० जना कामदार फसेका आशंका गरिएको छ। अढाई किलोमिटर लामो यस टनेलमा आइतबार रात धेरै समयसम्म पानी बगेपछि उद्धार कार्य रोकिएको भारतीय पत्रिका भास्कारले जनाएको छ। सोमबार आज बिहान पानी रोकिएपछि पुन उद्धार कार्य जारी राखिएको छ।
ऋषिगंगा जलविद्युत् आयोजना र सरकारी कम्पनी एनटीपीसीको परियोजनासमेत नष्ट भएको छ। परियोजनाका ३२ कामदार अझै बेपत्ता छन्। यहाँबाट ५ किलोमिटर टाढाको एनटिपी परियोजनामा दुर्घटना हुँदा १ सय ७६ मजदुर काममा खटिइरहेका थिए। यीमध्ये १ सय २१ जना हराइरहेका छन्।
प्रतिक्रिया