ओखलढुङ्गाः संघीय राजधानी काठमाडाैं र तराईका विभिन्न जिल्लामा काेराेना सङ्क्रमण दर उच्च भएर निषेधाज्ञा जारी भएपछि गाउँ फर्किएकाहरूमा काेराेना भाइरसकाे सङक्रमण पुष्टि हुन थालेकाे छ। हालसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ।
जिल्लाको खिजीदेम्बा गाउँपालिकाका ४३ वर्षीय पुरुष, मोलुङ गाउँपालिका–८ की १९ वर्षीया महिला र मोलुङ हाइड्रोपवरमा कार्यरत कपिलवस्तुका २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। उनीहरूमध्ये खिजीदेम्बा र मोलुङका दुई जना शहरबाट कोरोना छल्न गाउँ पुगेका व्यक्ति हुन्।
शहरबाट गाउँ पुगेकाहरूमा कोरोनाको लक्षण देखिन थालेपछि गाउँमा त्रास बढेको छ। “गाउँमा बस्न साह्रै डरमर्दो अवस्था भयो। शहरबाट आएकाहरू जताततै हिँडडुल अनि खानपिन गरिरहेका छन्। गाउँ पनि अब सुरक्षित भएन”, खिजीदेम्बाका शिव घिमिरेले भने, “भर्खर गाउँ आएकाहरूमा कोरोनाको लक्षण देखियो। जाँच्दा कोरोना पुष्टि भयो। गाउँमा त्रास बढ्यो।”
कोरोनाको दोस्रो लहर शुरु भएपछि ओखलढुङ्गामा हजारौँ मानिस गाउँ फर्किएका छन्। उनीहरू कोही पनि क्वारेन्टिनमा बसेका छैनन्। गाउँगाउँमा समेत कोरोनाका सङ्क्रमित भेटिन थालेपछि सङ्क्रमितका सम्पर्कमा रहेकालाई समेत स्वास्थ्य जाँच गराउनुपर्ने माग बढेको छ।
तर तत्काल लक्षण देखिएका बाहेक अन्यलाई परीक्षण गर्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए। जिल्लामा हालसम्म ४४ जनाको एन्टिजेन परीक्षण गरिएकामा नौ जनामा सङ्क्रमण पुष्टि भएको छ।
प्रतिक्रिया