झापाः कोभिड–१९ को बढ्दो सङ्क्रमण रोक्न झापामा आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी भएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले शुक्रबार जारी गरेकाे आदेशमा अत्यावश्यक कामबाहेक सर्वसाधारणले घर बाहिर निस्कन नपाइने उल्लेख छ।
आदेशमा हाटबजार, भेला, जुलुस, सभा, मेला, भोजभतेर आदि गर्न नपाइने भनिएको छ। निषेधाज्ञा आइतबार राति १२ बजेबाट शुरु हुने र वैशाख २६ गते राति १२ बजेसम्म लागू हुने भएको छ। सिनेमा हल, स्वीमिङ पुल, सामूहिक खेलकूद, पुस्तकालय, जिमखाना, पार्टीप्यालेस, सैलुन र ब्यूटीपार्लर सो अवधिमा बन्द गरिनुपर्ने निषेधाज्ञामा जनाइएको छ।
निषेधाज्ञामा यातायातमा जोर बिजोर लगाउने र सरकारी कार्यालयसहित बैंक र वित्तीय संस्थामा आलोपालो प्रणाली लागू गराउने भनिएको छ। शुक्रबार कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो। बैठकलगत्तै निषेधाज्ञा जारी गरिएको थियो।
प्रतिक्रिया