सल्यानः नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई मध्येनजर गर्दै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ। जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड नभएकाले निर्माण गर्न लागिएकाे नेपाली सेनाले जनाएकाे छ।
विपद् व्यवस्थापन तथा उद्धारमा समस्या हुँदै आएकाले हेलिप्याड निर्माण गर्न लागिएकाे हाे। हेलिप्याड भएपछि रातिसमेत हेलिकप्टर अवतरण गराउन सकिने सबजु गण सिमखर्कका प्रमुख सेनानी कृष्णकञ्चन बस्नेतले जानकारी दिए। उनले शारदा नगरपालिकाको आर्थिक सहयोगमा गणको हाताभित्र नाइटभिजन हेलिप्याड निर्माण गर्न लागिएको बताए।
सेनाले जिल्लाका ६ स्थानीय तहमा हेलिप्याड निर्माण गरेको छ। ती हेलिप्याडमा दिउँसो मात्रै हेलिकप्टर अवतरण हुन्छन्। राति अवतरण हुनका लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने भएकाले नगरपालिकाले रू पाँच लाख उपलब्ध गराएको हाे।
हेलिप्याड निर्माण गर्न बाँकी स्थानीय तहमासमेत स्थानीय जनप्रतिनिधिसँग आवश्यक समन्वय भइरहेको प्रमुख सेनानी बस्नेतले जानकारी दिए।
प्रतिक्रिया