काठमाडौं : काठमाडौं उपत्यकास्थित तीन जिल्लामा शैक्षिक संस्था बन्द गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले सुझाव दिएका छन् । आइतबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालय छाउनीमा बसेको सीसीएमसी बैठकमा उनीहरुले यस्तो सुझाव दिएका हुन् ।
बैठकमा तीन जिल्लाका सिडिओसहित सुरक्षा निकायका पदाधिकारी पनि सहभागी थिए । यसका साथै भीडभाड हुने अन्य क्षेत्र र होटल–रेस्टुरेटलगायतलाई मापदण्ड तोकेर सञ्चालन गर्नुपर्ने पनि तीन जिल्लाका सिडिओ सुझाव थियो ।
शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्न र मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै डान्सबार र दोहोरी साँझ अहिले बन्द गर्न सिफारिस गरेको थियो ।रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीको सिफारिस छ ।
प्रतिक्रिया