लेटेस्ट न्युज
advertisement1

पाँचखालकाे ‘जियोफिजिकल सर्भे’ शुरु

Maryada News 2021-03-25 21:33:11
पाँचखालकाे  ‘जियोफिजिकल सर्भे’ शुरु

काभ्रेपलाञ्चोक : पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा आजदेखि ‘जियोफिजिकल सर्भे’ (भूभौतिकी सर्वेक्षण) शुरुआत गरेको छ । विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल नगरपालिका–७ तथा वरपरको सम्पदा क्षेत्रमा सर्भे शुरु गरेको हो । पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन जियोफिजिकल सर्भे गर्न लागेका विभागका निर्देशक दामोदर गौतमले जानकारी दिए । 

पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्भे गर्न बेलायतस्थित दूरहाम विश्वविद्यालयका विज्ञ टोली मार्च पहिलोसाता नेपाल आएको थियो । उनका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्भे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो । टोलीले कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको थियो ।     
     
पाँचखालमा भने विभागका पुरातत्व अधिकृत विष्णु पाठकको नेतृत्वमा चार जनाको टोली सर्भेमा खटाइएको छ । विभागले गतसाता काभ्रेपलाञ्चोकको जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय, पाँचखाल नगरपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय र पाँचखाल नगरपालिका–७ नम्बर वडा कार्यालयलाई पाँचखालको करिब ६०० रोपनी जमिनमा गरिने सर्भेमा सहयोग गर्न अपिल गरेको थियो । पाँचखालमा सर्भे र ड्रोन क्यामेरामार्फत फोटो लिने काम भइरहेको उनले बताए ।     
     
पाँचखाल क्षेत्रमा करिब करिब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्भे थालिएको हो । सर्भे मेसिनले सम्पदा क्षेत्र तथा जमिनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउने विभागका महानिर्देशक गौतमले बताए। विभागले संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को) लाई गत असार ९सन् २०२०, जुन २९०मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको थियो ।     
     
पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल नपा–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ ।     
     
उत्खननका क्रममा भेटिएको अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाइन भेटिएको थियो । साथै स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् । पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक समेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै आएको छ ।     

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्