काठमाडाैंः खाल्डोमा लडेकी महिलालाई जिउँदै पुर्ने एक्सकाभेटर चालक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत फागुन १७ गते धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा एक्सकाभेटरको ठक्करबाट घाइते भएकी ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै खाल्डोमा पुर्ने दाङका भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो।
बुढाथाेकीलाई भारतकाे हरिद्वारबाट पक्राउ गरिएकाे हाे। ब्युराेकाे टाेलीले चार दिन अघि बुढाथाेकीलाई नेपालगञ्जकाे हाेटलमा लाेकेट गरेकाे थियाे। त्यहाँ उनी तीन दिनसम्म एक महिलासँग बसेका थिए। तर ब्यूराेकाे टाेली त्यहाँ पुग्नु अगावै बुढाथाेकी भारततर्फ लागिसकेका थिए।
डोजर चालक बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाउने र उनकाे लाइसेन्ससमेत नभएको कारण कर्तव्य ज्यानसम्बन्धी कसूरमा विस्तृत अनुसन्धान गर्ने सीआइबीले जनाएको छ।
गत फागुन १७ मा घाँस बोकेर फर्कँदै गरेकी कुमाललाई एक्सकाभेटरले ठक्कर दिँदा खाल्डाेमा खसेकी थिइन्। त्यसपछि चालक बुढाथोकीले उनलाई पुरेको र सो घटना स्थानीय र त्यही काम गर्नेहरूले देखेर हल्लाखल्ला गर्न थालेपछि उनी फरार भएका थिए।
घटनापछि स्थानीयले एक्स्काभेटरमा ढुंगामुढा र आगजनी गरेका थिए।
प्रतिक्रिया