काभ्रेः जिल्लाकाे नमोबुद्ध नगरपालिकाले महिलाका लागि स्कुटर चलाउने तालीम सञ्चालन गरेको छ। तालीममा महिला जनप्रतिनिधि सहित विभिन्न संस्थाका ४२ जनाको सहभागिता रहेकाे छ।
नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले स्कुटर सिकेपछि चालक अनुमतिपत्र प्राप्त गर्ने महिलाका लागि गाडी चलाउन सिकाउने जानकारी दिए। नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगतका दिनमा नगरपालिकाले पूर्वाधार निर्माणको काम अघि बढाइएकामा अब सीप विकासमा जोड दिएको बताइन्।
चैत १६ गतेसम्म तालिम सञ्चालन हुने छ। नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्नाका साथै उद्यमी र आत्मनिर्भर बनाउन विभिन्न अन्तरक्रिया, तालीम र गोष्ठी जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
यसअघि नगरपालिकाले सीप विकासअन्तर्गत ३० महिलालाई व्यवसाय सञ्चालन गरेर आर्थिक उपार्जनमा लाग्नका लागि लप्सीको परिकार बनाउने तालीम दिएको थियो ।
प्रतिक्रिया