काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अलमलमा नलागी पार्टीमा एकताबद्ध हुन नेता र कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको भातृ सङ्गठन अलिख नेपाल महिला सङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा आफूलाई हटाएजस्तो गरी कसैलाई अध्यक्ष वा पार्टी सदस्यबाट ननिकालेको तर कार्यसम्पादनका लागि केही नेतालाई कामको जिम्मेवारी दिएको जानकारी गराए ।
उनीहरु (माधवकुमार नेपाल र झलनाथ खनाल समूह) आएपछि कसरी अघि बढ्ने भन्ने कुरा छलफलबाट टुङ्ग्याउन सकिने भएकाले कुनै अलमलमा लाग्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको जानकारी गराउँदै भने, “सुनिन भन्न पाइने छैन, अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्था भएअनुसार हुँदै जानेछ, त्यसैले सुन्ने गरी भनेको छु चैत ७ गतेको बैठकमा आउनुहोला ।”
शुक्रबार माओवादी केन्द्रमा रहेका नेता/कार्यकर्तालाई पनि एकतामा कायम हुँदै अघि बढ्न प्रधानमन्त्री ओलीले आग्रह गरे । “म स्वागत गर्छु, आउनुहोस् सँगै मिलेर अघि बढौँ, बाटो बिराएकालाई पनि म भन्न चाहन्छु सच्चिनुहोस् आउनुहोस्”, उनले भने । उनले केपी ओलीलाई ठेगान लगाउन आए बाटोमै ठेस लाग्नेसमेत बताए । उनले सके प्रधानमन्त्रीबाट हटाएर देखाउन पनि चुनौती दिए ।
प्रतिक्रिया